आज बिहान सम्पन्न आईसीसी टी-२० विश्वकप २०२४ को खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । नेपालले ११६ रनको विजयी लक्ष्य पाएको थियो । तर नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन मात्र बनाउन सक्यो । यो पराजयसँगै नेपालको सुपर-८ यात्रा समेत समाप्त भएको छ ।
अन्तिम ओभरमा नेपाललाई जितको लागि ८ रन चाहिएको अवस्थामा गुलशन झाले एक चौकासँगै दुई बलमा दुई रन चाहिने अवस्थामा खेल पुगेको थियो । तर अन्तिम दुई बलमा कुनैपनि रन जोड्न नसक्दा नेपालले पराजय ब्यहोर्न पुग्यो ।
ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३४ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । अर्का खेलाडी अनिल साहले २४ बलमा ३ चौका र १ छक्कासहित २७ रन बटुलेर क्याच आउट भए । दीपेन्द्र, सोमपाल र गुलशनले १० भन्दा कमै रन बनाए ।
नेपालले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।